Saturday, November 29, 2014

कठै बरै!!!

काठमाडौंमा भर्खरै सार्क सम्मेलन सकिएको छ। १८औं सार्क सम्मेलनको तयारी सरकारले निकै जोड्तोड्को साथ गरेको थियो, यस्तो लाग्थ्यो काठमाडौंको रुप नै फेरिएको झैं। सरसफाईलाई बिशेष प्राथमिक्ता दिएको थियो, सडकहरु फराकिला पारीएको थिए, कहिलेदेखी भत्काएर राखिएको सडकहरु कालोपत्रे गरिए, सडकका पेटीहरु चिटिक्क पारीए, सडकको दाँया बाँया बत्तीहरु राखिए, भित्ताहरु रङिए, फुलहरु रोपिए, यस्तै धेरै परिवर्तन हरु द्रुत गतीमा भएको थियो।

सार्कको तयारीको समयमा भएका यस्ता परिवर्तन अथवा सरकारको पक्षबाट भएको बिकासको काम देखेर नेपाली जनताहरु दोहोरो सोचमा परेका थिए भन्ने भान हुन्छ। एकातिर काठमाडौं सफा भएको देखेर रमाउनेहरु थिए भने अर्कातिर अझै पनि सरकारलाई गाली गर्नेहरु थिए। सरकारको यो कामको प्रशंशा गर्ने भन्दा आलोचना गर्नेहरु नै धेरै छन् शायद। सार्क र काठमाडौंको रुपलाई लिएर सरकारलाई ब्यङ्ग गर्नेहरु को होड्बाजी नै चलेको थियो। कतिले त यसलाई बाध्यताको बिकास भनेर नाम दिए। 

मलाई ब्यक्तिगत रुपमा भन्नु पर्दा सार्कको नाममा भएको यो सरसफाई र थोरै बिकासको काम पनि हामी नेपालीका लागि एउटा उपलब्धी नै हो। भनिन्छ नि नहुनु मामा भन्दा कानो मामा निको। तर नेपालीहरुले उखान मात्र बनाउन जानेका छन्, व्यबहार चैं उही हो। मलाई चित्त नबुझेको कुरा चै हामी नेपालीको बानी सधैं सरकारको मुख ताकेर बस्ने अनी फेरी सरकारलाई गाली गर्ने र दोश दिने। सधैंभरी सरकारले आएर हामी हिंड्ने बाटो र हामी बस्ने शहर सफा त गर्दैन नि। हाम्रो सरकारलाई सबिंधान मात्र बनाउने जिम्मा दिंदा त अहिलेसम्म बनाएको छैन झन सधैं सफा पनि गर्दे भनिम भने त के होला? काठमाडौंलाई सफा राख्ने जिम्मेवारी त काठमाडौंबासीको पो हो त। 

नेपालीहरु साह्रै नै देशभक्त छौं भनेर घमन्ड गर्छन् र देशलाई अती नै माया गर्छौ भन्छन। कतै कसैले नेपालको बारेमा केही नराम्रो भनेको सुने भने पुत्ला जलाउदैं सडकमा उत्रिहाल्छन्। देशको लागि ज्यान दिन पनि पछी नपर्ने नेपालीहरुको मनमा राष्ट्रभक्तीको भावना ओत्प्रोत भए पनि एउटा राष्ट्रको नागरिकमा हुनुपर्ने नागरिक चेतना चै शुन्य छ भन्दा फरक नपर्ला। त्यही नागरिक चेतनाको कमी भएर नै होला जतीओटा आकासे पुल बनाए पनि बाटो काट्नुको लागि प्रयोग हुँदैनन् र शहर भरी फोहोर फाल्ने ढ्वाङहरु राखिए पनि अन्तमा फोहोर फालिन्छ जता मन लाग्छ त्यतै। जथाभाबी थुक्न नेपालीहरुलाई कसले जित्ने र हिंड्दाहिंड्दै बाटोकै छेउमा उभिएर हल्का हुन पनी कसैले सिकाउनु पर्दैन नेपालीहरुलाई। 

सार्क सम्मेलन सकिएको दुई दिन पनि भएको छैन नेपालीहरु आफ्नो नागरिक चेतना शुन्य रहेको र २१औ शताब्धीमा आएर पनि अझै असभ्य रहेको कुरालाई प्रश्ट पार्न सुरु गरिसके। सडकको बिचमा रोपिएको फुलहरु टेक्दै बाटो काट्न सुरु भएसकेको छ भने सडक छेउ फोहोरको डङुर पनि थुप्रिन थालइसकेको छ। यस्तो असभ्य कृयाकलापको फोटोहरु फेसबुक जस्तो सामाजिक सन्जालमा छ्यापछ्याप्ती आउन थालेको छ, धेरैले असभ्य र बुद्धि नभएको भन्दै त्यस्ता फोटोहरु श्यर पनि गरेका छन्। सार्क सम्मेलनको तयारी धेरै दिनसम्म नटिक्ने हल्ला उतिनै बेला चलेको थियो तर यती छिट्टै यस्तो हुन्छ भनेर चैं थाहा थिएन। यसरी त सरकारले जती बिकासको काम गरे तापनी बिनाश गर्ने त जनता नै हुन्छन। जबसम्म जनता सचेत हुँदैनन्, हाम्रो देश यस्तै नै रहिरहन्छ। 

खै असभ्यतालाई अङ्गालो हालेर बसेका अनी चेतना शुन्य भएका नेपालीहरुको बुद्धिको घैटोंमा कहिले घाम लाग्ने हो???

दैब जाने!!